स्वास्थ्य

जेईको जोखिम बढेपछि तिलाठी कोइलाडी ‘एक्सन’मा, लामखुट्टेको बासस्थान खोजी–नष्ट अभियान

पब्लिक प्रेस ।

सप्तरी ।

तिलाठी कोइलाडी गाउँपालिकाले जापानीज इन्सेफ्लाइटिस, डेंगुलगायत किटजन्य रोगको नियन्त्रण तथा रोकथामका लागि लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान सोमबारदेखि सञ्चालन गरेको छ।
जापानीज इन्सेफ्लाइटिसको संक्रमण बढ्दै गएपछि गाउँपालिकाको स्वास्थ्य शाखाको अगुवाइमा उक्त अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत लामखुट्टेले प्रजनन गर्ने सम्भावित स्थानको पहिचान गरी पानी जमेको स्थान, फोहोर तथा अन्य सम्भावित बासस्थान नष्ट गर्ने कार्य गरिएको छ।
स्वास्थ्य शाखाको अगुवाइमा सञ्चालित अभियानमा गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलसहित जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख दीपक मण्डल, सुभाष झासहित स्वास्थ्यकर्मी, वडा नं. ६ र ७ का स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो।
स्वास्थ्य संयोजक दीपक मण्डलका अनुसार जापानीज इन्सेफ्लाइटिसका पोजेटिभ केस देखिएका वडालाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिएको छ। उनका अनुसार संक्रमण फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुका साथै स्थानीयस्तरमा जनचेतना अभिवृद्धि गर्ने कार्यसमेत भइरहेको छ।
तिलाठी कोइलाडी गाउँपालिकामा गत साउन २१ गते ७५ वर्षीय ज्येष्ठ नागरिकको जापानीज इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु भएको थियो। संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले नियन्त्रण तथा रोकथामका लागि अभियानलाई तीव्रता दिएको जनाएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button