समाज

प्रहरीकै सेटिङमा तस्करी, तर ‘अपरेसन’को नाममा स्थानीयको हत्या

 

पब्लिक प्रेस ।
सप्तरीको राजगढ गाउँपालिका–२, कमलपुरमा मंगलबार राति प्रहरीले चलाएको गोलीबाट ३५ वर्षीय स्थानीय लालु कुमार यादवको ज्यान गएपछि आक्रोशित स्थानीयले राजविराजमा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध गर्दै स्थानीय प्रशासनविरुद्ध नाराबाजी गरेका छन्।

सिमावर्ती उक्त गाउँमा प्रहरीले मदिरा तस्करी नियन्त्रणका लागि ‘सर्च अपरेसन’ सञ्चालन गर्दै आएको थियो। सोही क्रममा मंगलबार राति प्रहरी र तस्करबीच झडप भएको र त्यही क्रममा प्रहरीले गोली चलाउँदा यादवको मृत्यु भएको स्थानीयले बताएका छन्।

केही दिनअघि प्रहरीको अपरेसनमा १६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको मदिराजन्य पदार्थ र ओसारपसारमा प्रयोग गरिएका सवारीसाधन बरामद गरिएको थियो। प्रहरीले त्यसै अपरेसनलाई निरन्तरता दिँदै आएको जनाएको छ।

मृतक लालु कुमार यादव सोही गाउँस्थित आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए। उनका आफन्त र स्थानीयबासीका अनुसार, यादवलाई प्रहरीको गोली लक्षित रूपमा लाग्दा घटनामा सुनियोजित षड्यन्त्रको आशंका गरिएको छ।

राजगढ–२ का वडा अध्यक्ष जितेन्द्र कुमार यादवले घटनामा प्रहरीको भूमिका शंकास्पद रहेको आरोप लगाउँदै भने, “प्रहरी र तस्करबीचको मिलेमतोमा नै निर्दोष नागरिकको ज्यान लिइएको हो। यस घटनाको निष्पक्ष छानबिन हुनु आवश्यक छ।”

घटनापछि सिमावर्ती बस्तीका स्थानीय त्रसित छन्। उनीहरूले दोषीमाथि कारबाहीको माग गर्दै सत्यतथ्य बाहिर ल्याउन दबाब दिइरहेका छन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button