समाज

बालविवाह मुक्त पालिकामै बालविवाह गराउने आराेपित पक्राउ 

 राजविराज : मधेस प्रदेशमा हालसम्म दुई ओटा जिल्ला बालविवाह मुक्त घोषणा भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका २०७९ मङ्सिर १४ गते र खडक नगरपालिका २०८० पुस १३ गते बालविवाह मुक्त नगरपाालिका घोषणा भएको हो ।
पहिलो बालविवाह मुक्त घोषणा भएको सुरुङ्गा नगरपालिकाकी एक महिला दोस्रो बालविवाह मुक्त घोषणा भएको खडक नगरपालिकाबाट बालविवाह गराउन खोजेको आरोपमा पक्राउ परेकी छिन् । सुरुङ्गा–३ दौलतपुरकी ४२ वर्षीया श्यामदेबी मण्डल बालविवाह गराउन खोजेको आरोपमा खडक नगरपालिका–२ बेल्ही टोलस्थित माइतीघरबाट पक्राउ परेकी हुन ।
पक्राउ परेकी श्यामदेबीले आफ्नो बालक छोराका विवाह बोदे बर्साइन नगरपालिका–९ सिमरा टोलकी बालिकासँग गर्न खोजेकी थिइन् । बालक छोरालाई बेहुला बनाई बाजागाजासहित जन्ती पठाएपछि प्रहरी टोलीले श्यामदेबीलाई पक्राउ गरेको हो ।
पक्राउ परेको स्थान पनि मधेश प्रदेशको दोस्रो बालविवाह मुक्त पालिका हो । खडक नगरपालिका–२ बेल्ही टोलस्थित माइतीघरबाट श्यामदेबीले छोराको विवाह गर्न खोजेकी थिइन् । बालविवाह गराउन जन्ती पठाइरहेकै बेला पुगेको प्रहरीले आरोपितलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक निलमप्रसाद उप्रेतीले बताए ।
पक्राउ परेकी आरोपितले विवाहका लागि छोराले जिद्दी गरेकाले विवाह गराउन खोजेको बताइन् । जन्ती लिएर हिंडेका बेहुला बालक भने गिरफ्तारीको डरले फरार भएका छन् । आरोपितविरुद्ध सुरुङ्गा नगरपालिकाको कार्यालयले इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा उजुरी दिएको छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button