पब्लिक प्रेस ।
महोत्तरी, |
आगामी मङसिरमा कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेश प्रदेशबाट १० जना टेबुलटेनिस खेलाडी छनोट भएका छन् ।
महोत्तरीको जलेश्वरमा सञ्चालन भएको प्रदेशस्तरीय टेबलटेनिस छनोट प्रतियोगिताबाट पुरुषतर्फ ५ जना र महिलातर्फ ५ जना गरी १० खेलाडी राष्ट्रिय खेलकुदका लागि छनोट भएको अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष मनोहर पोखरेलले जानकारी दिनुभयो ।
उपाध्यक्ष पोखरेलका अनुसार छनोट प्रतियोगितामा पुरुषतर्फ सिरहाका कृष्ण थापा मगर, धनुषाका नबिन बहादुर सिंह, सप्तरीका पियुष यादव, पर्साका संजय अर्याल र रौतहटका लक्ष्मण बहादुर बस्नेत छानिएका छन् । त्यस्तै महिलातर्फ महोत्तरीकी दिपिका भगत, अस्मिता यादव, दिव्या साह, धनुषाकी प्रणिता गिरी र पर्साकी पुजा साह रहेकी छिन् ।
मधेश प्रदेश टेबल टेनिस संघको प्राविधिक सहयोग, निणार्यक व्यवस्थापन र सहकार्यमा सम्पन्न छनौट प्रतियोगितामा सर्लाहीबाहेक सात जिल्लाका ११ जना महिला र २७ जना पुरुष गरी ३८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय खेलकुदमा राम्रो नतिजा ल्याउने लक्ष्यसहित खेलाडीलाई नियमित अभ्यास गराइने मधेश प्रदेश टेबल टेनिस संघका अध्यक्ष अनिल घिमिरेले बताउनु भयो ।
‘हामीले राष्ट्रिय खेलकुदका लागि २३ जना खेलाडी छनोट गरेका छौं। यी खेलाडीले नै कर्णालीको तर्फबाट उसुमा प्रतिस्पर्धा गर्नेछन्। अब उनीहरूलाई नियमित अभ्यास गराएर राम्रो रिजल्ट निकाल्ने हाम्रो प्रयास हुनेछ,’ शाहीले भने।
उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मेडल तथा प्रमाणपत्र वितरण गरी प्रदेशस्तरीय छनोट प्रतियोगिताको समपानमा मधेश खेलकुद परिषद्का सदस्य जितेन्द्र साहले छनोट भएका खेलाडीलाई अब राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित अभ्यासमा जुट्न आग्रह गरे ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ । राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगितामा ३४८ स्वर्ण, ३४८ रजत र ६४१ कांस्य पदक गरी एक हजार ३३७ पदकका लागि खेलाडीहरू भिड्नेछन् । कुल ३२ खेलका ३४८ इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
