मानवअधिकार

राजु पासवानलाई मानवअधिकार र उर्मिला देवी झालाई मैथिली लोकगीत पुरस्कार

पब्लिक प्रेस ।

राजविराज । बैद्य–प्रकाश मानवअधिकार पुरस्कार–२०८३ बाट मानव अधिकारकर्मी राजु पासवान सम्मानित भएका छन्। बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषले ३४औँ प्रकाश स्मृति दिवसको अवसरमा मंगलबार सप्तरीको राजविराजमा आयोजना गरेको समारोहमा पासवानलाई ११ हजार पाँच रुपैयाँ नगदसहित सम्मानपत्र र दोसल्ला प्रदान गरिएको हो।
बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषका संस्थापक तथा अध्यक्ष वैद्यनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेस प्रदेशका सभामुख राम आशिष यादवले पासवानलाई नगद पुरस्कारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे।
सप्तरीको शम्भुनाथ नगरपालिका–१ कचन्दाहाका ४८ वर्षीय पासवान ११औँ बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित भएका हुन्। मानव अधिकार तथा सामाजिक न्यायको अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रदान गरिएको ‘२१औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट सम्मानित राजविराज नगरपालिका–७ निवासी वैद्यनाथ झाले प्राप्त गरेको ५० हजार रुपैयाँबाट बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोष स्थापना गरिएको हो। कोषले २०७३ सालदेखि हरेक वर्ष मानव अधिकार तथा नागरिक आन्दोलनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ।
गरिबी, विभेद र अन्याय देख्दै तथा भोग्दै पीडितको पक्षमा स्थानीय समुदायलाई सचेत र संगठित पार्दै सामाजिक अभियानमा सक्रिय भएका पासवान मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा साढे दुई दशकदेखि निरन्तर क्रियाशील छन्।
समुदाय सशक्तीकरण तथा जागरण, हिंसापीडितको उद्धार र पुनःस्थापना, पैरवी तथा मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा निरन्तर सक्रिय पासवानले कानूनमा स्नातक तथा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्। उनी हाल एमफिलमा अध्ययनरत छन्। मानव अधिकार, विधिको शासन र प्रजातन्त्रप्रति आस्था र निष्ठा राख्दै अपहेलित समुदायको सम्मानित जीवनका लागि पासवान निरन्तर क्रियाशील छन्।
झालाई मैथिली लोकगीत गायन पुरस्कार

यसैगरी, सातौँ उर्मिला देवी झा स्मृति मैथिली लोकगीत गायन पुरस्कार–२०८३ बाट शीमला देवी झा सम्मानित भएकी छन्। उनलाई दुई हजार पाँच सय रुपैयाँ नगद, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो।
कार्यक्रमका विशिष्ट अतिथि उच्च अदालत जनकपुर–राजविराज इजलासका मुख्य न्यायाधीश सुभाष पौडेलले झालाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरे।
सप्तरीको राजगढ गाउँपालिका–१ नर्घो घर भई हाल राजविराज नगरपालिका–६ निवासी झालाई मैथिली लोकगायनका माध्यमबाट मैथिली भाषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै मैथिली महिला परिषद्को सिफारिसमा पुरस्कार प्रदान गरिएको पुरस्कारका संस्थापक पत्रकार वैद्यनाथ झाले बताए।
प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले आफ्नी भाइबुहारी स्वर्गीय उर्मिला देवी झाको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन्। सात वर्षअघि मधुश्रावणी पर्वका लागि सामग्री लिन विराटनगर गएका बेला एम्बुलेन्सको ठक्करबाट उर्मिला देवी झाको निधन भएको थियो। उनकै स्मृतिमा हरेक वर्ष मधुश्रावणी पर्वको अवसरमा एक जना मैथिली लोकगायकलाई सम्मान गर्दै आएको संस्थापक झाले बताए।
मानव अधिकार उल्लंघन न्यूनीकरणमा जोड

नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभामुख राम आशिष यादवले पुरस्कार वितरणले मानव अधिकार संरक्षण तथा प्रवर्द्धनको अभियानमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
पुरस्कार स्थापनाले मानव अधिकारकर्मीलाई उच्च मनोबलका साथ काम गर्ने ऊर्जा थप्ने उल्लेख गर्दै सभामुख यादवले यसले मानव अधिकार उल्लंघनका घटना न्यूनीकरणका लागि प्रेरणा मिल्ने बताए।
कार्यक्रममा उच्च अदालत जनकपुर–राजविराज इजलासका मुख्य न्यायाधीश सुभाष पौडेल, निर्वाचन आयोगका पूर्वआयुक्त डा. अयोधीप्रसाद यादव (एपी यादव), प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, राजविराज नगरपालिकाका पूर्वमेयर शैलेश चौधरी, पूर्वशिक्षिका मञ्जु श्रेष्ठ, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, पुरस्कृत व्यक्तित्व राजु पासवान र शीमला देवी झालगायतको उपस्थिति थियो।
कार्यक्रममा वक्ताहरूले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगका कारण मानव अधिकार उल्लंघनका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनीहरूले मानव अधिकार उल्लंघनका घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए।
बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषका सचिव तथा इन्सेक कोशी प्रदेश संयोजक मनोहर पोखरेलले सञ्चालन गरेको कार्यक्रममा कोषकी सदस्य तथा मधेस प्रदेशसभा सदस्य माला कर्णले स्वागत मन्तव्य व्यक्त गरे।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button