नविन यादव निर्भय
सप्तरी —
लगातार परेको अविरल वर्षाले सप्तरीको गिदखोरा डोम बस्ती अहिले अस्तव्यस्त छ। मोहली पुलको दक्षिणपट्टी झण्डै एक दशकदेखि बसोबास गर्दै आएको यो बस्तीमा पेट भोकै र मन आक्रोशले भरिएको छ ।
यहाँ करिब २० डोम परिवार बसोबास गर्छन्। बाढीले बस्तीभित्र पसेपछि उनीहरूका घरमा रहेको सारा खाद्यान्न, लत्ताकपडा, र अन्य सामग्री बगाएको छ। अहिले उनीहरूको चुल्हो निभेको छ, तर पीडा बलिरहेको छ।
स्थानीय सबिता मरिक भन्छिन्,
“दाल, चामल, नून, तेल — सबै गरेर ६० हजार रुपैयाँभन्दा बढीको सामान थियो, सबै बगायो। बच्चाहरू भोकै छन्। हामीसँग अब पकाउने के बाँकी छ?”
सबिता जस्तै शेम्भु मरिक र प्रमोद मरिकको घरमा पनि हालत उस्तै छ। बाढीले मात्र होइन, राज्यको बेवास्ताले समेत उनीहरूलाई भताभुंग बनाएको छ। “हामी डोम भएकै कारण relief आउँदैन कि?” — सबिताको यो प्रश्न मात्र हैन, उनीहरूको युगौंदेखिको पीडाको प्रतिविम्ब हो।
सबैभन्दा पीडादायी कुरा के छ भने बस्ती हेर्न नेताहरू आइपुग्छन्, फोटो खिच्छन्, आश्वासन दिन्छन्। तर राहतका नाममा एक बोरा चामल पनि कोही ल्याउँदैन। चुनाव ताका भोट माग्न आउनेहरू अहिले चुप छन्।
बाढीले डोम बस्तीमा भौतिक क्षति मात्रै होइन, मनोवैज्ञानिक पीडा पनि छोडेको छ। नगरपालिकाका कुनै प्रतिनिधि अझैसम्म राहत लिएर नपुगेको गुनासो सर्वत्र छ। न त खानेकुरा पुगेको छ,
“हामी पनि मान्छे हौं कि हैन? हाम्रो भोक, हाम्रो आँसु देख्ने कोही छैन?”
— एक युवा प्रमोद मरिकको जिज्ञासा यस्तो छ, जुन राज्यप्रति प्रश्न बनेर उभिएको छ।
स्वास्थ्य समस्या चुलिँदै गएको छ। सफा पानी छैन, झिँगा-मकै लाग्ने डर छ, बालबालिकामा झाडापखाला र ज्वरो देखिन थालछ । तर राहतको नाममा शून्यता छ।
यो विपत्तिको घडीमा स्थानीय सरकार, संघीय सरकार र सरोकारवाला निकायको ध्यान केन्द्रित हुनु जरुरी छ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।