शिक्षा

२० वर्षदेखि अलपत्र कन्या छात्रावास तत्काल सञ्चालनमा ल्याउन विद्यार्थीको माग

पब्लिक प्रेस ।
सप्तरी ।महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस (म.वि.व. क्याम्पस) राजविराजका विद्यार्थीहरूले निर्माणाधीन कन्या छात्रावास २० वर्षदेखि अलपत्र अवस्थामा रहेको भन्दै तत्काल क्याम्पसलाई हस्तान्तरण गरी सञ्चालनमा ल्याउन माग गरेका छन्।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) म.वि.व. क्याम्पसका अध्यक्ष रञ्जित कुमार यादवको नेतृत्वमा मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीहरूले सरकारको करोडौं रुपैयाँ लगानीमा निर्माण गरिएको छात्रावास समयमै सम्पन्न नहुँदा राज्यको लगानी खेर जाने अवस्थामा पुगेको बताएका छन्।
ज्ञापनपत्रमा निर्माण कार्यमा संलग्न पक्षहरूको लापरबाही तथा गलत मनसायका कारण हजारौं जेहेन्दार तथा आर्थिक रूपमा कमजोर छात्राहरूले निजी घरमा चर्को भाडा तिरेर बस्न बाध्य भएको उल्लेख गरिएको छ। यसले विद्यार्थीहरूलाई आर्थिक तथा सामाजिक रूपमा थप समस्या सिर्जना गरेको पनि विद्यार्थीहरूको भनाइ छ।
विद्यार्थीहरूले विभिन्न समयमा सम्बन्धित निकायसँग छलफल, पहल तथा दबाब दिँदै आए पनि हालसम्म कुनै ठोस निकास ननिस्किएको आरोप लगाएका छन्। साथै, चालु आर्थिक वर्षमा छात्रावासको बाँकी निर्माण कार्य सम्पन्न गर्न मधेश प्रदेश सरकारबाट करोडौं रुपैयाँ बजेट विनियोजन भए पनि उक्त बजेट फ्रिज गराउने प्रयास भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
ज्ञापनपत्रमार्फत विद्यार्थीहरूले कन्या छात्रावास तत्काल क्याम्पसलाई हस्तान्तरण गरी सञ्चालनमा ल्याउन जोडदार माग गरेका छन्। माग पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिँदै आन्दोलनका क्रममा हुन सक्ने कुनै पनि क्षतिको जिम्मेवारी सम्बन्धित सरोकारवाला निकायले नै वहन गर्नुपर्ने उल्लेख गरेका छन्।
उक्त ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश, जिल्ला समन्वय समिति सप्तरी, राजविराज नगरपालिका, भौतिक पूर्वाधार विकास कार्यालय, म.वि.व. क्याम्पस, जिल्ला प्रहरी कार्यालय सप्तरी तथा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरीलाई पठाइएको छ

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button