पब्लिक प्रेस ।
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–६ अन्डीपट्टि टोलमा आईतबार राति आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
स्थानीय वर्ष ५१ का ब्रहमदेव मण्डलको बाँसको टाटी र टिनको छानो भएको चार कोठे घरमा राति करिब १:३० बजे आगलागी भएको हो। घरको साइडको कोठामा बाँधिएको गाई–वस्तुलाई मच्छर धपाउन बालेको घुरबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै घरभित्र रहेका विभिन्न सामानहरू पनि जलेर नष्ट भएका छन्। आगो प्रहरी, स्थानीयवासी तथा हनुमाननगर कंकालिनी नगरपालिकाको दमकलको सहयोगमा करिब २:३० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। यस घटनामा कुनै मानवीय तथा चौपाया क्षति भने नभएको बुझिएको छ।
आगलागीमा जलेर नष्ट भएका सामग्रीहरूमा जेनरेटर (१ थान), धान २५ मन, थ्रेसर मेसिन (१ थान), काठका टेबल (२ थान), लेडिज साइकल (२ थान), बैलगाडा (१ थान), सुन ४ आना, नगद ५० हजार रुपैयाँ, काठका खाट (२ थान) तथा बाँसको टाटी र टिनको छानो भएको चार कोठे घर पूर्ण रूपमा समावेश छन्।



