समाज

सप्तरीमा जेष्ठ नागरिक र शिशुको बेवारिसे शव फेला

पब्लिक प्रेस ।
राजविराज, सप्तरी।

सप्तरी जिल्लामा एक जेष्ठ नागरिक र एक शिशुको बेवारिसे शव फेला परेको छ।
पुस २५ गते दिउँसो राजविराज नगरपालिका–६ लिल्जा टोलस्थित भित्री सडकखण्डमा करिब ५५–६० वर्ष उमेरका, हालसम्म नाम, थर र ठेगाना नखुलेका एक पुरुष बेवारिसे अवस्थामा फेला परेका थिए। मागी खाई हिँड्ने व्यक्ति जस्तो देखिने ती पुरुषलाई चिसोका कारण कठ्याङ्ग्रिएको अवस्थामा गस्तीमा खटिएको प्रहरी टोलीले उद्धार गरी गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पुर्‍याएको थियो।
अस्पतालमा उपचारकै क्रममा ती पुरुषको २०८२ पुस ३० गते दिउँसो करिब १:३० बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षकसहितको टोली खटिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको छ। मृतकको शव पोष्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ।
यसैबीच, बुधबार पुस ३० गते साँझ करिब ७ बजे राजविराज नगरपालिका–१४ पर्साहीस्थित बगही नहरको पुलमुनि करिब डेढदेखि दुई महिनाको जस्तो देखिने एक बालिकाको शव फेला परेको छ। सो सम्बन्धमा जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट तितरीगाछीबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखिएको थियो।
थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक प्रमोद साहको कमाण्डमा टोलीसहितको समूह घटनास्थल पुगेको थियो। टोलीले घटनास्थल मुचुल्का कार्य सम्पन्न गरी शिशुको शव गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजको शवगृहमा राखेको छ।
दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button