पब्लिकप्रेस संवाददाता
राजविराज।महदेवा गाउँपालिका पूर्व अध्यक्ष तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सल्लाहकार दीपक यादव (टुटु बाबु)को असामयिक निधन भएको छ।बिराटनगरस्थित निवासमा आज निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका हुन।
स्व. यादवले लामो समयदेखि स्थानीय राजनीति, सामाजिक विकास र जनसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। महादेवा गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हाल्दा उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा कृषि क्षेत्रमा उल्लेखनीय काम गरेका थिए। विशेषगरी गाउँपालिकाभित्र समावेशी प्रतिनिधित्व, जनसहभागिता र पारदर्शी प्रशासनलाई अगाडि बढाउने क्रममा उनले दिएको नेतृत्वको स्थानीयबासी प्रशंसा गर्ने गर्दछन्।
राजनीतिक रूपमा जसपाका केन्द्रीय सल्लाहकारसमेत रहेका यादव पार्टीलाई मजबुत बनाउन, संगठन विस्तारमा अग्रसर रहँदै आएका थिए।उहाँ सरल, मिलनसार र व्यवहारकुशल नेताको रूपमा परिचित हुनुहुन्थ्यो। समाजका दु:ख पीडामा सधैं अगाडि बढ्ने उनको स्वभावले उनलाई राजनीतिको साथै सामाजिक क्षेत्रमा लोकप्रिय बनाएको थियो।
उनको असामयिक निधनले महदेवा गाउँपालिकासहित सम्पूर्ण सप्तरी जिल्लामा ठूलो क्षति पुगेको भन्दै सर्वत्र श्रद्धाञ्जली व्यक्त गरिएको छ। विभिन्न राजनीतिक दल, सामाजिक संघ–संस्था र स्थानीय नागरिकहरूले उनको योगदान स्मरण गर्दै आत्माको चिर शान्तिको कामना गरेका छन्।स्व. यादवको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज उनको पैत्रिक गाउँ बथनाहा ल्याउने स्रोतले बताए ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।