नविन निर्भय यादव ।
राजविराज, ।
दशौं वैद्य–प्रकाश मानव अधिकार पुरस्कार–२०८२ बाट वरिष्ठ अधिवक्ता हिम्मत सिंह सम्मानित हुनुभएको छ।
मानवअधिकार योद्धा स्व. प्रकाश काफ्लेको ३३औं स्मृति दिवसको अवसरमा वैद्य–प्रकाश मानव अधिकार कोष, सप्तरीले शुक्रबार राजविराजमा आयोजना गरेको कार्यक्रममा सिंहलाई सम्मान गरिएको हो।
सप्तरीलाई आफ्नो कार्यक्षेत्र बनाई करिब पाँच दशकदेखि वकालत पेशामा सक्रिय रहनुभएका सिंहलाई कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा तथा अन्य अतिथिहरूले संयुक्त रूपमा नगद ११ हजार रुपैयाँ सहित सम्मानित गर्नुभयो।
८४ वर्षीय सिंह विद्यार्थी आन्दोलन हुँदै कानुन व्यवसाय तथा मानव अधिकार क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले वि.सं. २०२६ सालदेखि सर्वोच्च अदालतमा वकालत सुरु गर्नुभएको हो भने २०४२ सालमा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नुभएको थियो। हाल पनि उहाँ मानव अधिकार तथा प्रजातान्त्रिक मूल्यहरूको संरक्षणमा सक्रिय हुनुहुन्छ।
प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले आफ्नो भाइबुहारी स्व. उर्मिला देवी झाको स्मृतिमा स्थापना गरिएको यस पुरस्कारबाट विगत ६ वर्षदेखि मैथिली गीत गायनमा उत्कृष्ट महिलालाई सम्मान गर्दै आउनुभएको छ।

कार्यक्रम बैद्यनाथ झाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मधेस प्रदेशसभा सदस्य माला कर्ण, न्यायाधीश बामदेव ज्ञवाली, इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेल, प्रमुख जिल्ला अधिकारी भोला दाहाल,कोशी प्रदेश संयोजक मनोहर पोखरेल ,नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देव, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली लगायतले पुरस्कृत व्यक्तित्वहरूलाई बधाई दिँदै शुभकामना व्यक्त गर्नुभएको थियो।









