समाज

फलाे-अप जसपा अध्यक्ष मण्डलको कालो कर्तुत: अख्तियारको कारबाहीपछि व्याजसहित रकम फिर्ता

नविन निर्भय यादव

सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ७ का जसपा (जनता समाजवादी पार्टी) बाट निर्वाचित वडा अध्यक्ष हरिनारायण मण्डलकाे कालो कर्तुत सार्वजनिक भएको छ।

स्थानीयबासी र कर्मचारी स्रोतका अनुसार मण्डलले सार्वजनिक सम्पत्तिको अनुचित उपयोग गरी लाखौं ,लाख रुपैयाँ बराबरको सामग्री गैरकानुनी रूपमा बेचेका छन्।

मंसापुरस्थित वडा कार्यालय परिसरमा रहेका काठका चार थान दराज, आम जातका चार रूख र सभेदी जातका छ वटा रूखको बिना माइन्युट र वन कार्यालयको अनुमतिविना कटानी तथा विक्री गरिएको असार २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा जाहेरी दर्ता गरिएको थियो। लगातार सूचना माग्दा पनि जानकारी नदिएको स्थानीयको गुनासोपछि आयोगले छानबिन थालेको हो।

आयोगका सूचना अधिकारी, उप–सचिव निरजकुमार देवका अनुसार साउन १ गतेदेखि अनुसन्धान प्रारम्भ गरिएको छ। अनुसन्धान प्रारम्भ हुनासाथ मण्डलले दबाब महसुस गरेका देखिन्छन्, किनभने २०८२ साल असाड ३ र १० गते उनले तिलाठी कोईलाडी गाउँपालिकाको राजस्व खातामा ९७ हजार रुपैयाँ मूल रकमसहित थप २१ हजार १७ रुपैयाँ व्याज गरी कुल १ लाख १८ हजार १७ रुपैयाँ फिर्ता गरेका छन्। यो फिर्ता रकमले मण्डलको संलग्नता पुष्टि गरेको जनसमुदायको धारणा छ।

यस घटनाले स्पष्ट पारेको छ कि जसपा जस्तो दलबाट निर्वाचित जनप्रतिनिधिले पनि जब सत्ता र शक्तिको दुरुपयोग गर्छन्, तब कानुनी निकायको सक्रियता आवश्यक हुन्छ। मण्डलले सार्वजनिक सम्पत्तिमा आफ्नो व्यक्तिगत अधिकार देखाएर जनतामाथि अन्याय गरेका छन्। संविधान र सुशासनका नाममा निर्वाचित भएका नेताबाट यस्ता कार्य हुनु लोकतान्त्रिक मूल्यप्रति कुठाराघात हो।

वडाका बासिन्दा र सामाजिक अभियन्ताहरू मण्डलविरुद्ध कडा कारबाहीको माग गरिरहेका छन्। स्थानीय नेता रमबिलास मण्डल भन्छन्, “हामी यस्ता नेताको साथमा छैनौं जसले जनताको भरोसा तोड्छ। अख्तियारले निष्पक्ष अनुसन्धान गर्दै मण्डललाई कठोर कारबाही गर्नुपर्छ।”

विपक्षी दल नेपाली कांग्रेसका नेता गुलाब सिंहले भने, “रकम फिर्ता गर्नु माफी होइन। यो त अपराधको स्वीकृति हो। अब उनलाई पदमुक्त गरी कानुनी प्रक्रियामा ल्याउनु अनिवार्य छ।”

सरकारी स्रोतका अनुसार मण्डलविरुद्ध वन ऐन २०७६ बमोजिम कारबाहीको प्रक्रिया समेत सुरु भएको छ। वन ऐन अनुसार बिना स्वीकृति रूख कटानी गर्नु दण्डनीय अपराध हो, जसको लागि जरिवाना वा कैद सजाय हुन सक्ने प्रावधान छ। अझ सूचनाको हकसम्बन्धी ऐनको उल्लंघन समेत गरेको पृष्ठभूमिमा मण्डलमाथि थप कारबाही सम्भावित छ।

यता, जसपा पार्टीको केन्द्रीय नेतृत्व भने अहिलेसम्म मौन देखिएको छ। पार्टीभित्र यस विषयमा कुनै छानबिन समिति गठन भएको जानकारी सार्वजनिक भएको छैन। यसले जनता माझ पार्टी प्रतिको विश्वसनीयता थप कमजोर बनाएको छ।

यदि यस्ता घटनामा दोषीलाई उन्मुक्ति दिने परिपाटी रहिरह्यो भने, जनता र राज्यबीचको विश्वास झनै कमजोर हुँदै जानेछ। न्यायप्रणाली र अख्तियारजस्ता संस्थाको निष्पक्षता र सक्रियताले मात्रै सुशासन र जवाफदेहिता कायम रहन सक्छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button