पब्लिक प्रेस ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–६ बभनागामामा शनिबार साँझ भएको भीषण आगलागीमा १२ घरमा क्षति पुगेको छ। आगलागीबाट ६ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने ५ वटा घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय रामअवतार यादवले घरमा बालेको घुरबाट साँझ करिब ७: बजे अचानक आगलागी भएको थियो। आगो तीव्र रूपमा फैलिँदा गाउँका घरहरूमा ठूलो क्षति पुगेको हो। घटनामा ४ वटा खसी/बाख्रा जलेर मरेका छन् भने कुनै मानवीय क्षति भएको छैन।
आगलागी नियन्त्रणका लागि बिओपी बर्साईनबाट सप्रनिको कमाण्डमा ९ जना, प्रहरी चौकी को–बर्साईनबाट प्रसनि नेतृत्वमा ४ जना, नेपाली सेनाको बरख गण राजविराजबाट उपसेनानीको कमाण्डमा ७ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो।
त्यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकाको एक वटा दमकल, कोशी प्रोजेक्टका चार वटा पानी ट्याङ्कर तथा स्थानीयवासी गरी करिब ५०/६० जनाको सहभागितामा आगो नियन्त्रणमा लिइएको थियो। आगो राति करिब १०:३५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट करिब ३५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागीमा अनिल यादवको घरमा रहेको ४ तोला चाँदी, नगद १ लाख रुपैयाँ, खाद्यान्न, लत्ताकपडा तथा महत्वपूर्ण कागजात जलेर करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
यस्तै जुगेश्वर यादवको घरमा रहेको २ तोला सुन, १० तोला चाँदी, नगद २ लाख रुपैयाँ, ४ वटा खसी/बाख्रा, खाद्यान्न तथा अन्य सामग्री जलेर करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
त्यसैगरी जोगिन्दर यादवको घरमा १ तोला सुन, १० तोला चाँदी, नगद २ लाख रुपैयाँ, एलइडी टिभी, खाद्यान्न तथा कागजात जलेर करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। अर्का अनिल यादवको घरमा २ तोला सुन, २ तोला चाँदी र नगद २० हजार रुपैयाँसहित करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ।
रमन कुमार यादवको घरमा १२ आना सुन, ३० तोला चाँदी, नगद १ लाख रुपैयाँ तथा अन्य सामग्री जलेर करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने योगेन्द्र यादवको घरमा २ तोला सुन, १० तोला चाँदी र नगद २ लाख रुपैयाँसहित करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
यस्तै बिद्यानन्द यादव, सदानन्द यादव, जरी यादव, श्रवण कुमार यादव र राजकुमार यादवको घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।
0 1 minute read










