सप्तरीका मिटरब्याजी रामदेव साह तेलीकी श्रीमती शिवकुमारी देबी साहलाई सप्तरी जिल्ला अदालतले २५ लाख रुपियाँ धरौटी माँग गरेको छ ।
जिल्ला न्यायाधीश उमानाथ गौतमको इजलाशले आरोपित साहसँग पुर्पक्षका लागि धरौटी रकम माँग गरेको हो । सुनसरीको धरान उप महानगरपालिका– १९ बस्दै आएकी उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेकी थिइन् ।
इलाका प्रहरी कार्यालय धरानले शिवकुमारी देबी साहलाई नियन्त्रणमा लिई कारवाहीका लागि सप्तरी पठाएको थियो । परिबन्धमा परेका विपन्नलाई ऋण लगाएर रामदेवले मिटरब्याजमा रकम असुल्नुका साथै उनीहरूको जग्गासमेत कब्जा गरेको आरोप छ । मिटरव्याजमा रकम असुल्ने गरेको आरोपमा साहका पूरै परिवार संलग्न रहेको अभियोग छ । रामदेवसहित चार जना भने फरार छन ।
खडक नगरपालिका कल्याणपुरका मिटरब्याजी तेलीको खोजीमा रहेको प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजार र दिदी अनुराधालाई काठमाडौंबाट पक्राउ गरेको थियो । दुवैजना ०७९ असार २३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
जिल्ला अदालतमा २०७९ असार २० गते रामदेव साहसहित ८ जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दायर छ । मो. तैयब अलि समेत १७ जनाको जाहेरीले रामदेव, उनकी श्रीमती शिवकुमारी, छोरी धनुषाको सवैला नगरपालिका– १० की अनुराधा कुमारी साह, छोरा नन्दकिशोर साह तेली, चन्दन कुमार साह, धनुषाको सवैला नगरपालिका– १० का कैलाश साह, सोही ठाउँकी रेणु कुमारी साह, पुषा साह विरुद्ध अभियोगपत्र दायर छ ।
साह परिवारमाथि जग्गा बन्धकी राखी चर्को मिटरव्याज असुली गर्ने र धेरैजसो ऋणीले व्याज चुक्ता गर्दा पनि धितो फिर्ता नगरेको आरोप छ ।
स्रोत : इन्सेक सप्तरी
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।