पब्लिक प्रेस ।
सप्तरी,
सप्तरीको बोदेबर्साइन नगरपालिका–२ बैरियामा करेन्ट लागी एक महिलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय बोदेबर्साइनका अनुसार शनिबार विहान करिब ११:१५ बजे मोहन साहको घरमा कपडा सुकाउने फलामको तारमा विद्युत प्रवाह भई लुगा सुकाउने क्रममा उनकी बुहारी २८ वर्षीया मालती देवी साह करेन्ट लाग्दा गम्भीर घाइते भइन्। उनलाई बचाउने क्रममा उनकी सासू ५० वर्षीया सिता देवी साह र छिमेकी ६० वर्षीय रामपृत साह पनि करेन्ट लागी घाइते भएका छन्।
तीनै जनालाई उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज लगिएकोमा डाक्टरले जाँच तथा ईसीजी गर्दा बिहान ११:३६ बजे मालती देवी साहलाई मृत घोषित गरेका थिए। अन्य दुबै जनाको अवस्था मध्यम रहेको र उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










