समाजस्वास्थ्य

सप्तरीमा झाडापखालाको प्रकोप, एकै परिवारका तीन जनाको मृत्यु

नविन निर्भय यादव

राजविराज ।सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहरी टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा एकै परिवारका तीन जनाको हप्ताभित्र मृत्यु भएको छ। स्थानीय बासिन्दाका अनुसार मृतक सबै एउटै परिवारका सदस्य हुन्, जसमा दुई जना पुरुष र एक जना बालिका रहेका छन्।

स्थानियका भनाइअनुसार तीनै जनामा उच्च ज्वरो र लगातार पखाला लाग्ने लक्षण देखिएको थियो। समयमै स्वास्थ्य उपचार नपाउँदा उनीहरूको ज्यान गएको बताइएको छ। गाउँमा हाल झाडापखालाका थप बिरामी पनि देखिन थालेका छन्।

स्थानीयले बताएअनुसार सो टोलमा हालसम्म १५ जनाभन्दा बढीमा झाडापखालाको लक्षण देखिएको छ। मृत्यु हुनेहरूमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन्।

तर, घटनाबारे स्थानीय सरकार र जनस्वास्थ्य निकाय अहिलेसम्म सक्रिय नदेखिएको स्थानीयको गुनासो छ। ‘हामीले स्वास्थ्यकर्मी आउँछन् कि भनेर पर्खिरहेका छौँ, तर अहिलेसम्म कोही आएको छैन,’ एक स्थानीय बासिन्दाले भने।

उक्त वडाका वडाध्यक्ष जयप्रकाश ठाकुरका अनुसार घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल पहल थालिएको छ। ‘स्थानीय स्वास्थ्य चौकीका कर्मचारीहरूलाई औषधि र उपचारका लागि खटाइएको छ, रोग फैलिन नदिनका लागि स्थानीय सरकार सक्रिय छ,’ उनले बताए।

स्वच्छ खानेपानी र सरसफाइको अभाव, साथै बर्खायामको फोहोर पानीका कारण रोग फैलिएको हुन सक्ने आशंका गरिएको छ। जनस्वास्थ्य विज्ञहरूले दूषित पानीको परीक्षण गर्न र प्रभावित क्षेत्रको तत्काल सरसफाइ अभियान सञ्चालन गर्न सुझाव दिएका छन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button