जनकपुर, ३१ साउन: मैथिली साहित्य र भाषाको उत्थानमा समर्पित मैथिली साहित्यकार सभाले आफ्नो १४औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का मैथिली मातृभाषा सेवा संयोजक गजेन्द्र गजुरलाई विशेष सम्मान प्रदान गरेको छ । मैथिली भाषा, साहित्य र अनुवादको क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि पुर्याउँदै आएको अविछिन्न योगदानको कदर गर्दै गजुरलाई ‘दिनाभद्री भाषा अभियानी सम्मान’ द्वारा सम्मानित गरिएको हो ।
जनकपुरमा आयोजित सभाको १४औँ वार्षिकोत्सव समारोहमा साहित्य, कला र पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल र रोशन जनकपुरीले गजुरलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । उहाँहरूले मैथिली भाषालाई पत्रकारिताको मूलधारमा स्थापित गर्न र त्यसको व्यावसायिक अनुवादलाई स्तरीय बनाउन गजुरले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । विगत १२ वर्षदेखि रासस जस्तो राष्ट्रिय समाचार एजेन्सीमा रहेर मैथिली भाषा सेवालाई निरन्तरता दिनु आफैमा एक महत्वपूर्ण भाषिक अभियान भएको वक्ताहरूको भनाइ थियो ।
कार्यक्रममा मैथिली साहित्यमा योगदान पुर्याउने अन्य स्रष्टाहरूलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा लेखक रामरिझन यादव, विद्यानन्द वेदर्दी लगायत विभिन्न साहित्यकार तथा अभियानीहरू छन । उनीहरूको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो ।
सोही समारोहमा मन्तव्य राख्दै मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले भाषा आयोगको सिफारिस बाबजुद मधेश प्रदेशमा मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा लागू नगरिएकोमा गहिरो दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “भाषा आयोगले स्पष्ट रूपमा मधेश प्रदेशमा कामकाजको लागि मैथिली भाषालाई सिफारिस गरेको छ, तर त्यो सिफारिसलाई कार्यान्वयनमा लान ढिलाइ गरिनु सम्पूर्ण मैथिली भाषीहरूका लागि दुःखद र निराशाजनक विषय हो ।” अध्यक्ष चौधरीले आयोगको सिफारिसलाई अविलम्ब कार्यान्वयन गरी मैथिली भाषाको सम्मान गर्न प्रदेश सरकारसँग जोडदार माग गर्नुभयो ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि मैथिली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवर्द्धनका लागि राज्य र सरोकारवाला निकायहरू थप जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए । मैथिली साहित्यकार सभाको वार्षिकोत्सव भाषा र साहित्यको उत्सव मात्र नभई भाषिक अधिकारका लागि आवाज उठाउने एक महत्वपूर्ण मञ्च समेत हो ।
—-
