पब्लिक प्रेस सम्वाददाता
राजविराज ।
सप्तरी लगायत तराई मधेशमा लामो समयदेखि पानी नपर्दा किसानहरु चिन्तित बनेका छन् । पानी नपर्दा यसको प्रत्यक्ष असर किसान लगायत सर्वसाधारणहरुले भोगिरहेका छन् । असार सकिन लाग्दा समेत लामो समयदेखि पानी नपर्दा अत्यधिक गर्मीले सामान्य जनजीवन समेत कष्टकर बनेको छ ।
पानी नपर्दा उत्पन्न भएको गर्मीले यहाँका उच्च तापक्रमका कारण जनजीवन प्रभावित भएको छ, भने खेतीपातीमा पनि प्रतिकुल असर परेको छ । लामो समयदेखि वर्षा नहुँदा खेत सुख्खा रहेका छन्, जसले अन्न उत्पादनमा असर पार्ने चिन्ता बढाएको छ ।
पानी नहुँदा अधिकांश चापाकलहरुमा पानी आउन छाडेको स्थानीयहरु बताउँछन् । जसका कारण पानीको हाहाकार समेत देखिन थालेको छ । स्थानीयवासीहरू उच्च तापक्रम र पानी अभावका कारण दैनिक जीवनमा कठिनाइ भोगिरहेका छन् । मधेश प्रदेशको विभिन्न जिल्लाहरूमा हाल भइरहेको अत्यधिक गर्मीका कारण जनजीवन मात्र होइन, ग्रामीण क्षेत्रका चापाकलहरू समेत सुक्न थालेका छन् ।
यता, लामो समयदेखी पानी नपर्दा सप्तरी जिल्लाको मुख्य बालीको रुपमा हरेको धानबालीमा समेत प्रत्यक्ष असर परेको छ । गत बर्ष असार मसान्तसम्ममा लगभग ९८ प्रतिशत धान रोपाइँ भईसकेको थियो । तर यस बर्ष असार सकिन लाग्दा १० प्रतिशत मात्र धान रोपाइँ भएको छ ।
कृषी ज्ञानकेन्द्र राजविराजका अनुसार, सप्तरीमा कुल ८१ हेक्टर जग्गा रहेपनि बार्सेनि ६८ हेक्टर क्षेत्रफलमा धानबाली हुनेगर्छन । तर यस बर्ष पानी समयमा नपर्दा हालसम्म सिंचाइ, पोखरी, मोटर, कल, आदिबाट पानी पटाएर १० प्रतिशत अर्थात ६ हजार ८ सय हेक्टर जग्गामा मात्र धान रोपाइ भएको छ । गत बर्ष यसै अवधिमा लगभग ९२ प्रतिशत धान रोपाइ भईसकेको कृषी ज्ञानकेन्द्र राजविराजका निमित्त कार्यालय प्रमुख किसुनदेव राउतले बताए ।

किसानहरुले जसोतसो लगाएकोे धानबाली पानी नपर्दा दरा फाटेर सुकिन लागेको, कार्यालय प्रमुख राउतले भने ।
सप्तरीको, उत्तरी भागमा रहेको चन्द्र नहर र पूर्वीभागमा रहको कोशी पम्प नरहबाट कुल जग्गाको ३५ प्रतिशत अर्थात २३ हजार ८ सय हेक्टरमा सिंचाइको सुविधा छ । तर लामो समयदेखी पानी नपर्दा त्यसको प्रत्यक्ष असर नहरहरुमा समेत परेको छ । पानी नपर्दा र खोलाहरुमा बाढी नआउँदा चन्द्र नहरमा पानी पनि थोरै आउने गरेको तिरहुत गाउँपालिका वडा नम्बर २ मैनाकडेरीका किसान अशोक यादव बताउँछन ।
नहरमा थोरै मात्रामा आएको पानीले किसानहरु आफ्ना धानको बिउ जोगाउन ठाउँ–ठाउँमा नहरको पानी छेकेर बन्द गर्ने गर्छन । फत्तेपुर र कञ्चनपुरका किसानहरु अगाडीमै नहरको पानी छेक्दा हाम्रो खेतसम्म त्यो पानी नै पुग्दैन, उनी बताउँछन् ।
असार सकिन लाग्दा किसानहरु खेतलाई तयार गरी पानीको लागि कुरिरहेका छन् । धानबालीको लागि खेतलाई आलुको खेत झै तयार गरेर कुरिरहेको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ का देवनारायण यादवले बताए । गत बर्ष ४ विघा साहुसँग भाडामा लिएर गरेको धान निकै भएको थियो । तर यस बर्ष साहुलाई यतिकै पैसा बुझाउनुपर्छ उनलाई त्रासले सताई रहेको छ । कठ्ठाको ५ हजारको दरले लिएको भाडामा जग्गा अहिलेसम्म धान रोपाइं नहुँदा उनी झन चिन्तित भएका छन् ।
यता, मधेश प्रदेश सरकारले हालसालै चालू आर्थिक वर्षमा ७१ प्रतिशत खर्च भएको विवरण सार्वजनिक गरेको छ । असार २५ गते राती १२ बजेसम्मा प्रदेश सरकारले आर्थिक बर्ष २०८०/०८१ मा विनियोजन गरेको कुल बजेटको ७१ प्रतिशत मात्रै खर्च हुन पाएको तथ्यांक प्रदेश लेखा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ ।
सरकारले आफै बिनियोजन गरेको बजेट बर्ष भरिमा खर्च गर्न नसक्दा फ्रीज हुँदै आएको छ, तर किसानको लागि अस्थायी सिंचाइ, डिपबोरिङ जस्ता कामहरु गर्न पाएको छैन किसानहरुको गुनासो छ ।
यहाँका मुख्यमन्त्री भए तापनि सबैभन्दा बढी यहाँका किसानहरु समस्याबाट ग्रसित रहेको किसानहरुले बताए ।
यता, मधेश प्रदेश सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । विहीबार साँझ बसेको मधेश मन्त्रिपरिषद बैठकले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो ।




