पब्लिक प्रेस ।
सप्तरी — नागरिक तथा राजनीतिक अधिकारअन्तर्गत सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकारमाथि राज्यपक्षबाट भएको गम्भीर उल्लंघनको रूपमा सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरस्थित लालु यादव हत्या काण्ड सार्वजनिक भएको छ। नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ ले उक्त घटनालाई राज्यद्वारा गरिएको मानवअधिकार उल्लंघनको उदाहरणका रूपमा उल्लेख गरेको छ।
श्री खुवलाल जग्रनाथ शक्ति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ३६ वर्षीय लालु यादव साउन २० गते राति प्रहरीले प्रहार गरेको गोली लागेर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको हो।
प्रहरीका अनुसार तस्करी भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको इन्स्पेक्टर वीरेन्द्रकुमार यादवको टोली घटनास्थल पुगेको थियो। लालु यादवले सञ्चालन गर्दै आएको रक्सी पसलमा छापामारी गर्ने क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले गोली प्रहार गरेको जनाएको छ। प्रहरी पक्षले आत्मरक्षाका लागि सात राउण्ड फायरिङ गरेको दाबी गरेको छ।
घटनामा प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादव र प्रहरी सहायक हवल्दार सिकेन्द्र थारु समेत घाइते भएका थिए। उनीहरूको प्राथमिक उपचार गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको थियो भने थप उपचारका लागि मधेश प्रदेश प्रहरी अस्पताल, रुपनी पठाइएको थियो। मृतकको शव परीक्षण साउन २२ गते गजेन्द्रनारायण सिंह अस्पतालमै गरिएको थियो।
घटनाको विरोधमा साउन २१ गते बिहान मृतकका आफन्त र स्थानीयवासीले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका थिए। प्रदर्शन नियन्त्रण गर्न सुरक्षाकर्मीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेका थिए। सो क्रममा प्रहरीतर्फ हवल्दार मणिभूषणप्रसाद यादव, शम्भुनारायण माझी, अनिलकुमार कानु, मो. फारुक मियाँ, किशोर लामिछाने, अजयकुमार कुशवाहा, चन्दनकुमार यादव, राधेश्याम यादव र विकासकुमार मुखिया घाइते भएका थिए। सबै घाइतेहरूको उपचार गजेन्द्रनारायण अस्पताल, राजविराजमा गरिएको थियो।
घटनाको सत्यतथ्य पत्ता लगाउन इन्सेक मधेस प्रदेश कार्यालय र एड्भोकेसी फोरम नेपालको संयुक्त टोलीले साउन २५ गतेदेखि स्थलगत अनुगमन सुरु गरेको थियो। घटनामा संलग्न भएको आरोपमा इन्स्पेक्टर वीरेन्द्रकुमार यादवलाई सोही दिन जिल्ला कार्यालयबाट सरुवा गरिएको जिल्ला प्रहरी प्रमुख एसपी गौतम केसीले जानकारी दिएका छन्।
मानवअधिकारकर्मीहरूले राज्य संयन्त्रबाटै नागरिकको ज्यान जाने घटना गम्भीर चिन्ताको विषय भएको बताएका छन्। उनीहरूले निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेका छन्।









